लेखिका: अनिता रसाईली


जुन देशमा नारीको सम्मान हुँदैन त्यो देश कहिल्यै पूर्ण रूपमा समृद्ध बन्न सक्दैन। नेपालको विकास र समृद्धिको सपना तब मात्र सफल हुन्छ, जब नेपाली नारीको आवाज घरको चार भित्ताभित्र सीमित नभई राष्ट्र निर्माणको केन्द्रसम्म पुग्छ। आधा धर्ती र आधा आकाश ओगटेका महिलाहरूको सहभागिताविना समृद्ध नेपालको परिकल्पना केवल सपना मात्र बन्न सक्छ।नेपाली समाजमा महिलाहरूले वर्षौंदेखि विभेद, हिंसा, अशिक्षा र पितृसत्तात्मक सोचको सामना गर्दै आएका छन्। एक समय महिलालाई केवल घर सम्हाल्ने व्यक्तिका रूपमा हेरिन्थ्यो। उनीहरूको विचार क्षमता र निर्णयलाई महत्त्व दिइँदैनथ्यो। तर आज समय बदलिएको छ। नेपाली नारीहरू मौन बस्न छोडेका छन्। उनीहरू शिक्षा, राजनीति, व्यापार, प्रविधि, कृषि, पर्यटन, सञ्चार, स्वास्थ्य, सुरक्षा निकायदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्।
गाउँका महिलाहरू बिहानैदेखि खेतबारीमा पसिना बगाएर देशको कृषि प्रणाली धानिरहेका छन्। शहरका महिलाहरू व्यवसाय, उद्यम र नेतृत्वमार्फत अर्थतन्त्रलाई नयाँ दिशा दिइरहेका छन्। एक आमाको त्यागले परिवार बच्छ एक शिक्षित महिलाले समाज बदल्छिन् अनि एक सशक्त नारीले राष्ट्रको भविष्य निर्माण गर्छिन्। त्यसैले नारी आवाज कुनै एक वर्गको आवाज होइन यो सिङ्गो राष्ट्रको समृद्धिको आधार हो।
महिला सशक्तीकरण बिना दिगो विकास सम्भव छैन। जब महिलाहरू शिक्षित, आत्मनिर्भर और सचेत बन्छन् तब परिवारमा सकारात्मक परिवर्तन आउँछ। शिक्षित आमाले नै सभ्य संस्कारी र जिम्मेवार पुस्ता निर्माण गर्छिन्। छोरीहरूलाई समान शिक्षा र अवसर प्रदान गर्दा बालविवाह, अशिक्षा, हिंसा र सामाजिक कुरीतिहरू स्वतः कमजोर हुँदै जान्छन्।
आर्थिक विकासमा पनि महिलाको भूमिका अत्यन्त महत्वपूर्ण छ। घरेलु उद्योग, कृषि, पर्यटन हस्तकला स्वरोजगार र साना व्यवसायहरूमा महिलाको सक्रियताले देशको अर्थतन्त्रलाई मजबुत बनाइरहेको छ। आज डिजिटल युगसँगै महिलाहरू सामाजिक सञ्जाल अनलाइन व्यवसाय र प्रविधिको प्रयोगमार्फत आत्मनिर्भर बन्न थालेका छन्। यसले केवल महिलाको जीवनस्तर सुधार गरेको छैन देशको आर्थिक विकासमा समेत नयाँ ऊर्जा थपेको छ।
समृद्ध नेपाल निर्माण गर्न अब केवल भाषण होइन, व्यवहारिक परिवर्तन आवश्यक छ। गाउँ–गाउँमा महिला अधिकार, शिक्षा, स्वास्थ्य र स्वरोजगारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। छोरा र छोरीबीचको विभेद अन्त्य गरी समान अवसर दिनुपर्छ। महिला हिंसाविरुद्धका कानुनलाई कडाइका साथ लागू गर्दै पीडितलाई न्याय र सुरक्षा सुनिश्चित गर्नुपर्छ।
जुन समाजमा महिलालाई सम्मान गरिन्छ त्यो समाज सभ्य विकसित र समृद्ध हुन्छ। महिला सुरक्षित भए परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भए समाज बलियो बन्छ अनि समाज बलियो भए राष्ट्र समृद्ध बन्छ। त्यसैले नारीलाई कमजोर होइन परिवर्तनको शक्तिको रूपमा हेर्न आवश्यक छ।
समृद्ध नेपालको सपना केवल सडक भवन र ठूला योजनाले पूरा हुँदैन। त्यो सपना तब पूरा हुन्छ जब देशका हरेक छोरीले डर होइन अवसर पाउँछिन् मौनता होइन आफ्नो आवाज उठाउने अधिकार पाउँछिन्। जब नेपाली नारीको आवाज पूर्ण रूपमा बुलन्द हुनेछ त्यही दिन समृद्ध नेपालको नयाँ इतिहास सुरु हुनेछ।
नारीको शक्ति कमजोर होइन, राष्ट्र बदल्ने सबैभन्दा ठूलो ऊर्जा हो।