संसारमा कतै नदेखिने राम्रा राम्रा संस्कृति नेपालमा छन् । त्यो कै हो भने आमाबाबुको गुणको स्मरण गरी मुख हेर्ने चलन । त्यसैलाई मातातीर्थ र गोकर्ण औँसी भनिन्छ । त्यो दिन बाबुको मुख हेर्ने दिन हो । जापानमा पिता दिवस भन्ने चलन छ रे । तर हामी कहाँ जस्तो होइन । हामी कहाँ आमा बुबा दुबैको मुख हेर्ने चलन छ ।
बौद्ध साहित्य अनुसार पुण्य क्षेत्रहरू चारवटा छन् । अर्थात् सम्मान गर्न योग्य व्यक्तिहरू चारजना छन् ।
ती हुन्– १. बुद्ध, २. बुद्ध श्रावक संघ, ३. आमा-बाबु र ४. गुरु ।
बुद्धको जन्म दुर्लभ छ । बुद्ध जन्मेपछि बुद्ध श्रावकको पनि उत्पत्ति हुन्छ । तर आमा-बाबुको सेवा गरेर पुण्य क्षेत्र एवं स्रोत पुण्य क्षेत्र बनाउन सकिन्छ ।
साधारण गुरुजन दशजना भन्दा सदाचार धर्म सिकाउने शिक्षक (गुरु) एकजना उत्तम हुन्छ । धर्म शिक्षा दिने सयजना गुरु भन्दा एकजना बुवा उत्तम हुन्छ । एक हजार पिताभन्दा शिक्षित एकजना आमा उत्तम हुन्छ । भन्ने कुरा धर्मग्रन्थमा उल्लेख छ ।
मेरो छोरा छोरी पनि माया ममता गर्ने भएकाले , आफ्ना बच्चाहरूको सेवा गर्ने भएकाले आमा भन्ने नाउँ भएको र कहलाएको हो । बच्चाहरूलाई खाना , कपडा र बस्ने ठाउँ प्रबन्ध गरेर रक्षा गर्ने भएकाले अभिभावकलाई पिता भन्ने गरिन्छ । यसरी अध्ययन गर्दा खेरी माता पिता शब्द अर्थसहित भएको जस्तो देखिन्छ ।
धर्मग्रन्थमा लेखिएअनुसार ब्रह्मद्वारा सकल प्राणीप्रति मैत्री, करुणा, मुदिता (प्रसन्नता) उपेक्षा (तटस्थता) यी चार धर्म फैलाइन्छ रे । तर गौतम बुद्धको भनाइअनुसार आमा-बुवा नै ब्रह्म हुन् । आमा-बुवाले चारै देखिने गरी आफ्ना छोराछोरीप्रति उत्तम व्यवहार मैत्री, करुणा, मुदिता र उपेक्षा व्यवहार देखाएको हुन्छ । त्यसैले आमाबाबु नै ब्रह्म हुन् सृष्टिकर्ता पनि हुन् । जब आमाको गर्भमा बच्चा बस्न गर्छ त्यसै दिनदेखि आमाले अङ्गपूर्ण भएको बच्चा कहिले देख्न पाइएला, जन्मदाखेरी हृष्टपुष्ट भएको निरोगी बच्चा देख्न पाऊँ भन्ने आशा गरिरहन्छिन् । उनी गर्भवती भएदेखि नै होसियार भएर जथाभावी खाना खाँदैनन् । धेरै पिरो खायो भने गर्भमा भएको बच्चालाई असर पर्छ अनि जथाभावी चल्न हुँदैन भनेर चल्दैनन् । लापरवाही भइकन चलेर खाना खाएको परिणाम गर्भपतन पनि हुन सक्छ । लापरवाहीका कारण अङ्गभङ्ग भएको, अन्धो बच्चा जन्मन सक्छ ।
तसर्थ गर्भवती आमाले लापरवाही भई चल्दैनन् र खानपान पनि गर्दैनन् । किनकि बच्चालाई कति माया ममता राख्छिन् र मैत्रीचित्त भएकी हुन्छिन् भन्ने कुरा देखाउँछ ।
आमा-बाबुले जब बच्चा जन्मिन्छ त्यसदेखि बच्चालाई केही दुःख, कष्ट र रोग हुँदा खेरी दुःखित भइरहन्छन् । बच्चालाई यस्तो छैन भने रोगबाट मुक्त गर्न प्रयत्नशील हुन्छन् । जे कष्ट सहन पनि तयार हुन्छन् ।
एकजना आमाले आफ्नी छोरीको सेवा गरेको घटना प्रस्तुत गर्न चाहिन्छु ।
छोरी साह्रै बिरामी परिन् । आधा शरीर चाहिँ प्राणी छैन जस्तो भयो । उनी अगाडि आउने सबैलाई र आमालाई पनि गाली मात्र गरिरहन्थिन् । अरू भन्थे – यो बिरामी बाँच्छैन । तर आमालाई दृढ विश्वास थियो छोरीको रोग निको नपारीकन छोड्दिन । दुई तीन वर्षसम्म छोरीप्रति मैत्री करुणा चित्तले सेवा गरेर निको पारिन् । आफ्नी छोरीले जति गाली गरे पनि दुःख दिए पनि दिक्क नमानिकन आफ्नो सेवा सफल पारेर छाडिन् । यो साँच्चिकै घटना हो । यसले छ आमाको माया ममता ।
आमा-बाबु आफ्नो ध्यान बच्चाहरूको पालनपोषण गर्नमै लगाउँछन् ।
बच्चाले काखमा दिशा पिसाब गरे पनि घृणा नगरी सफा गर्छन् । हालसालै काठमाडौंको जडीबुटी प्रशोधन केन्द्र अगाडि एकजना युवकलाई राक्षसी प्रवृत्तिका अज्ञात व्यक्तिहरूले मरणासन्न हुने गरी कुटे । त्यो युवक मेरो दुईवटा बच्चा छ , मलाई नमार भन्न्थ्यो । तर त्यस युवकलाई कसैले बचाएन । मर्ने बेलामा पनि बच्चाहरूको पिर लिएर प्राण छोड्यो ।
अरुको बच्चा रोइरहेको देखेर बच्चाको आमालाई माया लाग्छ , हृदय कम्पन हुन्छ । आफ्नो बच्चाको सम्झना हुन्छ ।
बच्चाले सबैभन्दा पहिले आमा, मं मं भन्दै बोल्न थालेको सुन्नासाथ हाम्रो आमा-बुवा धेरै खुशी हुन्छन् । बच्चा स्कुलमा गएर राम्रोसँग पढेर प्रथम श्रेणीमा उत्तीर्ण भएको खबर सुन्नासाथ हाम्रो छोराछोरीहरू ज्ञानी भएकोले सबै जाँचमा पास हुन्छन् भनी खुब खुशी हुन्छन् । यो आमा बाबु भएको मुदिता गुण हो ।
छोराछोरीहरू जब ठुलो हुन्छन् , विवाह गरेर रोजगार प्राप्त भएपछि आमा बाबुहरू ढुक्क हुन्छन् – उनीहरू आफ्नै खुट्टामा उभिन पुगेका छन् भनेर । अब पिर छैन । बालक अवस्थामा गरिने माया ममता ठूलो हुँदा भएपछि उपेक्षा भाव हुन्छ । तटस्थ भाव हुन्छ ।
हेन बहादुर मल्ल
(बुद्ध वक्ता)