जनताको अभूतपूर्व म्यान्डेटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार सरकार गठन गर्दैछ। र, यो दलका वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह लोकतान्त्रिक इतिहासकै कान्छा जननिर्वाचित प्रधानमन्त्री बन्दैछन्।

नेपालको प्रजातान्त्रिक इतिहासमा आजसम्म कुनै पनि दल यति ठूलो जनसमर्थनका साथ सत्तामा पुगेको थिएन। यसअघिको सबभन्दा ठूलो म्यान्डेट २०१५ सालमा नेपाली कांग्रेसले पाएको हो। त्यो बेला कांग्रेसले १०९ संसदीय सिटमध्ये ७४, अर्थात् झन्डै ६८ प्रतिशत सिट जितेको थियो। र, बिपी कोइरालाले मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ता सम्हालेका थिए।

यहाँ २०१५ साल र २०८२ सालबीच निर्वाचन प्रणालीको भिन्नता हामीले भुल्न हुँदैन। त्यो बेला सांसदहरू प्रत्यक्ष निर्वाचित हुने व्यवस्था मात्रै थियो। समानुपातिक निर्वाचन प्रणाली थिएन। त्यसैले कांग्रेसले तुलनात्मक रूपमा थोरै पपुलर मत पाए पनि दुई–तिहाइ बढी संसदीय सिट जितेको थियो। कांग्रेसले २०१५ सालमा ३७.२ प्रतिशत पपुलर मत मात्र पाएको थियो। बाँकी मत अरू धेरै दल र स्वतन्त्र सांसदहरूबीच बाँडिएको थियो।

यसपालिको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरेर २७५ सिटमध्ये १८२, अर्थात् दुई–तिहाइभन्दा दुई सिट कम जितेको छ। समानुपातिकतर्फ ४७.८ प्रतिशत मत पाएको छ।

२०१५ सालमा जस्तो यसपालि पनि प्रत्यक्ष निर्वाचन प्रणाली मात्र हुन्थ्यो भने रास्वपाले संसदमा ७५.७ प्रतिशत सिट जित्ने थियो।

त्यस अर्थमा जनताले यसपालि रास्वपालाई दिएको म्यान्डेट अभूतपूर्व हो। यो विशाल जनमतका साथ सरकार बनाउन लागेको रास्वपा र यो दलका प्रस्तावित प्रधानमन्त्री बालेन शाहलाई हामी हार्दिक बधाई र शुभकामना दिन चाहन्छौं। र, यो जनमत मात्र अभूतपूर्व होइन, योसँग जोडिएका जनताका आकांक्षा र मुलुकप्रति यो दलको जिम्मेवारी पनि अभूतपूर्व छ भन्ने हामी स्मरण गराउन चाहन्छौं।

सत्तामा पुगेका हरेक दल र जिम्मेवारी सम्हालेका हरेक प्रधानमन्त्री–मन्त्रीहरू सफल भए मात्र मुलुक सफल हुँदै जाने हो। त्यही कुरा सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिको हकमा पनि लागू हुन्छ। त्यसैले प्रधानमन्त्रीदेखि सार्वजनिक जिम्मेवारीमा पुगेका हरेक व्यक्ति सफल बनून् भन्ने हाम्रो सधैंको कामना छ। यो सरकारको हकमा पनि हामी त्यो कामना दोहोर्‍याउन चाहन्छौं।

मुलुकको एउटा प्रमुख सञ्चारगृहका रूपमा यो सरकारले संविधान, कानुन र विधिको शासनको पालना गरोस्, साथै नागरिकहरूको स्वतन्त्रता र अधिकार रक्षा गरोस् भन्नेमा पनि हामी सधैं चनाखो रहनेछौं। त्यसतर्फ हाम्रो जिम्मेवारी र जबाफदेहिता दृढता साथ निर्वाह गर्नेछौं।

तीन वर्षअघि मात्र गठन भएको रास्वपा अहिले जसरी उदाएको छ, त्यसका सात वटा सकारात्मक पक्ष छन् भन्ने हामीलाई लाग्छ। साथै यो दलका सामु अब पाँच वटा मुख्य चुनौती छन् भन्ने पनि हामीलाई लाग्छ। यी उज्याला पाटा र चुनौतीबारे हामी यो सम्पादकीयमा सरसर्ती उल्लेख गर्नेछौं।